धर्मेन्द्र चौरसिया,२५ फागुन । ठोरी गा.पा. –४ मा रहेको सर्पदंश केन्द्र स्थापना भएको ३ वर्ष पुरा भएको छ। सर्पदंश स्थापना भएको ३ वर्ष पुरा भएको अवसरमा उपचार केन्द्र परिसर पानीट्याङ्कीमा आज एक कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाईएको छ।
सो अवसरमा सर्पदंश उपचार केन्द्रले हालसम्म ४ सय १४ जना सर्पदंशका बिरामीहरुको उपचार गरेको जानकारी दिएको छ । सर्पदंश केन्द्र स्थापना भएको चौथो वर्ष पुगेको अवसरमा केन्द्रले सो तथ्याङ्क सार्वजनिक गरेको हो । केन्द्रले हालसम्म १५ जना अति विषालु सर्पले डसेको बिरामीको सफल उपचार गरेर बिरामीको जीवन रक्षा गरेको छ।
स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले सर्पदंश केन्द्रले ग्रामीण क्षेत्रका सर्पल डसेका बिरामीहरुको जीवन रक्षा गरेको भन्दै केन्द्रको प्रशंसा गरे। ठोरी लगायतका ग्रामीण क्षेत्रका स्थानीयले सर्पले डसेकै कारण ज्यान गुमाउन बाध्य हुने अवस्थाको अन्त्य भएको भन्दै सर्पदंश केन्द्रलाई सबै पक्षको साथ आवश्यक रहेको विचार व्यक्त गरेका थिए।
कार्यक्रममा ठोरी १ का वडाध्यक्ष धनमान थापा, २ का अध्यक्ष अमृत कृष्ण सापकोटा, ३ का वडाध्यक्ष शम्भु खड्का, ४ का वडाध्यक्ष मान बहादुर थिङ, कुशुमबाटिका उपभोक्ता समितिका पुर्व अध्यक्ष टंक तिमिल्सिना, समाजसेवी राम बहादुर श्रेष्ठ, पुर्व वडाध्यक्ष बैइ बहादुर तामाङ लगायतले विचार व्यक्त गरेका थिए।
सर्पदंश उपचार केन्द्रमा नेपाली सेनाले उपचारका निमित्त जनशक्तिको व्यवस्था गर्दै आएको सो केन्द्र व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर श्रेष्ठले जानकारी दिए । निशुल्क उपचार सेवा रहेको केन्द्रमा आर्थिक र औषधि व्यव्स्थापनको व्यवस्था भने ठोरी गापाले गर्ने गरेको उनले बताए ।