![]() |
मृगौला रोग पीडित महेन्द्रका बाबु (भादगाउँलेटोपी लगाउनु भएको) लाई सहयोग रकम हस्तान्तरण गर्नु हुँदै ठोरी गाउँपालिका अध्यक्ष लालवहादुर श्रेष्ठ र अभियन्ता पुनमका बाबु जीतवहादुर लामा । |
दडे, ठोरी, १५ चैत्र ।
ठोरी गाउँपालिका वडा नं. ३ निवासी मृगौला रोग पिडित महेन्द्रकुमार श्रेष्ठको उपचारका लागि २ लाख ३४ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ ।
ठोरी–३ घर भइ बैदेसिक रोजगारीको क्रममा हाल ईजरायल रहेकी पुनम लामा र उनकी छोरी अस्ट्रेलियामा कार्यरत स्नेह लामाको संयुक्त पहलमा दाताहरूबाट सहयोग संकलन गरि पठाएको हो । सहयोग राशीमा पुनम र स्नेहले व्यक्तिगतरुपमा पनि जनही २०/२० हजार रुपैयाँ सहयोग गर्नु भएको पुनमका भाइ बुद्धनगर निवासी शिक्षक नीमा पाख्रिनले जानकारी दिनु भयो ।
![]() |
सहयोग रकम हस्तान्तरण पछि दाता र अभियन्ताहरूलाई कृतज्ञता जाहेर गर्दै पालिका अध्याक्ष श्रेष्ठ । |
ठोरी गापा वडा नं. ३ को वडा कार्यालयमा मंगलवार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष लालवहादुर श्रेष्ठ र पुनमका बाबु जितवहादुर लामाले मृगौला रोग पीडित महेन्द्रका बाबु पुर्णवहादुर श्रेष्ठलाई संयुक्त रुपमा १ लाख ३४ हजार रुपैयाँ नगद हस्तान्तरण गर्नुभएको हो । बाँकी एक लाख रुपैयाँ बैंक मार्फत विरामीको खातामा प्राप्त भएको वडा नं. ३ का वडाअध्यक्ष शम्भू खडकाले जानकारी दिनु भएको छ ।
![]() |
ईजरायल र अष्ट्रेलियाबाट आएको सहयोग रकमबारे जानकारी गराउँदै पुनमका भाइ नीमा पाख्रिन। |
सहयोग हस्तान्तरण कार्यक्रममा ठोरी गापा अध्यक्ष श्रेष्ठले पनि व्यक्तिगतरुपमा २० हजार रुपैयाँ नगद सहयोग गर्नु भयो । त्यसैगरि नेकपा एमालेका पर्सा जिल्ला कमिटी सदस्य राजेश लामाले ३ हजार रुपैया नगद व्यक्तिगतरुपमा सहयोग प्रदान गर्नु भयो । सो अवसरमा मन्तव्य व्यक्त गर्दै पालिका अध्यक्ष श्रेष्ठले पीडितका लागि पालिकाको तर्फबाट गर्नु पर्ने आर्थिकलगायत विविध सहयोग छुट्टै प्रप्त हुने जानकारी दिनु भयो । विरामीले जटिल रोगका लागि पालिकाले दिने सहयोग र औषधी खर्चका लागि मासिक रुपमा नेपाल सरकारले प्रदान गर्ने रकमका लागि आवश्यक समपुर्ण व्यवस्था पालिकाले मिलाउने पालिका अध्यक्ष श्रेष्ठले जानकारी गराउनु भयो ।
![]() |
आफ्नो तर्फबाट सहयोग प्रदान गर्दै नेकपा एमाले पर्साका सदस्य राजेश लामा (कालो टिसर्टमा) |
अभियान अन्तर्गत भारतीय सेनामा कार्यरत श्रेष्ठ रिया ऋषि, रत्न श्रेष्ठ (चितवन), मिलन बुढाथोकी, हेम श्रेष्ठ (पर्सा काठमण्डौ सम्पर्क मञ्च), राजेन्द्र खडका (अमेरिका) लगायतले सहजीकरण गरिरहेका छन् । विरामीको घर गाउँमा पनि जति सक्दो सहयोग संकलनका लागि वडा सदस्य टिकावहादुर श्रेष्ठको संयोजनमा समिति बनेको थियो । त्यसैगरि रेडियो विजयबस्तीलगायत महिला सहकारीले यस अघि नै केही सहयोग रकम पीडितको अभिभावकलाई हस्तान्तरण गरेको थियो ।
यसैगरि देशका विभिन्न स्थान र विदेशका जापान, अस्ट्रेलिया, इजरायलल, खाडीमुुलुक लगायत विभिन्न स्थानमा कार्यरत नेपालीहरू अभियानमा जोडिनु भएको अभियन्ताहरूले जानकारी गराएका छन् । अभियानमा संकलित सहयोग रकम सिधै विरामीको खातामा पठाउने व्यवस्था गरिएको छ । दाताहरुले पीडित महेन्द्रकुमारको नाममा प्रभु बैंकमा सञ्चालित खाता नं. (०५७०२२३३६७१०००१५) वा ई–सेवा नम्बर ९८४२४२५०२५मा सिधै सहयोग रकम जम्मा गर्ने र सोको बैंक भाउचर फोटो कपी म्यासेजमार्फत अभियान टोलीलाई उपलब्ध गराउने गरिएको अभियन्ता रत्न श्रेष्ठले बताउनु भएको छ ।
मृगौला रोग पीडित विपन्न परिवारका २८ बर्षिय महेन्द्रको काठमण्डौ महाराजगंज स्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । रोग पत्ता नलाग्दासम्म वीरगंज र काठमण्डौका नीजि अस्पतालहरू चहार्दा चहार्दै परिवारमा रहेको रकम सकिएकोले थप उपचारका लागि सहयोग माग्नु परेको पीडितका बाबु पुर्णवहादुरले बताउनु भयो । विरामीको सहजताको लागि काठमण्डौ अभियान टोलीका सदस्य लिलामणी श्रेष्ठ (सन्तोष), रामशरण श्रेष्ठ, मोहन श्रेष्ठलगायतले सक्रिय भूमिका निभाइरहनु भएको महेन्द्रका बाबु पुर्णबहादुर श्रेष्ठले बताउनु भयो ।