पोखरीया,११ माघ । पर्साको पोखरियामा पर्सा क्षेत्र नम्बर ३ का नवनिर्वाचित सांसद राजकुमार गुप्तालाई नेकपा एमालेले सम्मानित गरेको छ ।
बुधबार पोखरियामा आयोजित एमाले नगर कमिटीको बैठकमा नवनिर्वाचित सांसद गुप्तालाई सम्मानित गरिएको हो ।एमाले नगर कमिटीका अध्यक्ष बिन्ध्याचल ठाकुरको अध्यक्षतामा भएको बैठकमा गुप्तालाई दोशल्ला ओढाएर अध्यक्ष ठाकुरले सम्मानित गरेका थिए।
बैठकमै मंसिर ४ को निर्वाचनकै बेला विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका शैलेश साह कानू , गोवर्धन यादव , बांका प्रसाद कुर्मी ,शिवपूजन साह गोढ लगायतलाई सांसद गुप्ताले फुलमाला लगाएर सम्मानित गरेका थिए।
बैठकमा बोल्दै सांसद गुप्ताले आफुलाई मत दिएर निर्वाचित गराउने पार्टीका नेता कार्यकर्तालाई धन्यवाद दिदै क्षेत्रको विकास र समृद्धिका लागि अहोरात्र खटेर लाग्ने प्रतिबद्धता जनाए । यस्तै पोखरिया नगरपालिकाका मेयर प्रधुमन चौहानले नगरपालिकाको सेवा प्रवाह , विकास निर्माणका कामलाई एक महिना भित्र चुस्त दुरुस्त पार्ने प्रतिबद्धता जनाए ।
बैठकमा उपमेयर रूबी कुमारी ठाकुर , एमाले नगर सचिव संतोष गिरी ,बिनोद गिरी,भगवान प्रसाद कुर्मी, लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।