पोखरीया २० पुस, जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा गण्डक सिंचाइ योजनामा कर्मचारीहरूको लापरवाहीले २०औं बिघा जग्गामा लगाइएको गहुँबालीमा पानी जमेको छ ।
मसिहानीको ब्लक नं २ आरडी १७ मा सिंचाइले कर्मचारी परिचालन नगरेकोले मंगलबार गण्डक नहरमा छाडिएको पानी ओभरफ्लो भएर किसानहरूको खेतमा पुगेको थियो । गण्डकमा पानी छोड्दा पानीको मात्रा हेरेर नहरको क्यानल खोल्ने, बन्द गर्ने कर्मचारीहरू नभएका कारण नहरमा छाडिएको पानी ओभरफ्लो भई किसानहरूको गहुँबालीमा पानी जमेको हो ।
स्थानीय किसान राजकुमार साहले गहुँ रोपिएको २१ दिनपछि सिंचाइ गरेको खेतमा पानी जमेपछि गहुँबाली प्रभावित भएको बताउनु भयो । उनले नहरबाट आएको पानीले २०औं बिघा खेतमा पानी जमेर बाली प्रभावित हुन सक्ने आशङ्का व्यक्त गरे । खेतमा अनावश्यक पानी जमेपछि गहुँबाली सप्रनेमा सशङ्कित हुनुपरेको उनले बताए ।