
डडेलधुरा । अविरल वर्षाले डडेल्धुराको भित्री मधेशमा पर्ने परशुराम र आलिताल गाउँपालिकामा पाक्न थालेको धानबाली खेतमै कुहिन थालेपछि किसान चिन्तित भएका छन् ।
खेतबारीमै काटिएको धानबाली बर्षाका कारण भित्र्याउन नपाएपछि ठुलो नोक्सानी भएको हो ।
परशुराम नगरपालिकाको वडा नं.६ भोरकुण्डाका ४० परिवारको धानीबालीमा पानीले ठूलो क्षति पुर्याएपछि भोकमरीको समस्या आउन सक्ने स्थानीय भूपेन्द्र धामी बताउनुहुन्छ ।
वर्षभरी खानलाई पुग्ने धान पानीले गर्दा बारीमै कुहिन थालेपछि किसानहरू चिन्तित बनेका हुन । उनीहरूलाई वर्षभरी के खाने र बालबालिका कसरी पाल्ने भन्ने चिन्ताले सताउन थालेको धामीको भनाई छ ।
सोही ठाउँकी स्थानीय द्रोपती बमले लगातारको वर्षाले काटेको धान बारीमै कुहिएको बताउनुभयो ।
“लगातारको पानीले काटेर धानबाली बारीमै कुहिएको छ । पानीले गर्दा लुट्याएर राखेको मकै पनि कुहियो” उहाँले भन्नुभयो, “पहिरोबाट जोगिएको धेरै जमिनमा लगाएको खेती पनि पानीले नष्ट गर्यो । अब भोकमरी हुने चिन्ता बढ्यो ।” उहाँले गुनासो गर्नुभयो ।