
मकवानपुर। मकवानपुरमा बिहीबार (हिजो) दिउँसो भएको बस दुर्घटनामा ज्यान गुमाएकामध्ये ६ जनाको पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाएका ७ जना मध्ये ६ जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेमा नुवाकोट घर भएका रघुराज न्यौपाने, बाराका अन्दुल्लाहा मियाँ ठकुराई र सेख अरमान, वीरगञ्जका हृदयनाराण पञ्जियार, मकवानपुरका मदन विक र भारत मोतिहारी घर भएका सरदनारायण शर्मा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले जानकारी दिनुभयो । दुर्घटनामा ज्यान गुमाएका एक जनाको अहिलेसम्म परिचय खुलेको छैन ।
दुर्घटनामा घाइते भएका २६ जनामध्ये ४ जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । अरूको विभिन्न अस्पतालमा उपचार भइरहेको र सामान्य घाइते ६ जना उपचारपछि घर फर्किएको उहाँले बताउनुभयो । बा ३ ख ७८५८ नम्बरको बस भीमफेदीको जुरिखेत नजिकै ओरालो बाटोमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।