Italian Trulli
Italian Trulli

नेपालप्रति अनुद्धार चिन


दर्पण अभिलाशी, काठमण्डौ ।
 
उत्तरी छिमेकी चीनलाई नेपालको भरपर्दो मित्रराष्ट्रको रूपमा परिभाषित गर्नेहरूको फेहरिस्त नेपालमा सानो छैन । पञ्चायतको तीस वर्षमा यही भाष्य स्थापित गर्ने काम भइरह्यो । नेपालका वामपन्थीहरूको नजरमा त चीन दोषरहित मुलुक नै हो । अध्यात्ममा विश्वास राख्नेहरू देवताबाट गलती हुन सक्दैन भन्ने मान्यता राखेझैं वामपन्थीहरू चीनलाई दोषरहित मित्रराष्ट्रको संज्ञा दिने गर्छन् । जबकि यथार्थमा चीन पनि गुण र दोष युक्त छिमेकी नै हो । विगत साढे सात वर्षदेखि उत्तरी छिमेकी चीनको नेपालप्रति हेपाहा प्रवृत्ति र उपेक्षापूर्ण व्यवहारका कारण नेपालको निर्यात व्यापार ठप्प मात्रै परेको छैन, अपितु चीनबाट आयात गरेर नेपालमा व्यापार खोज्ने व्यापारीहरू पनि करोडौं रुपैयाँको घाटा सहन बाध्य भएका छन् । बाध्य भएर कतिपयले त उत्तरी नाकाबाट व्यापार नै गर्न छाडिसकेका छन् । शुरूका केही वर्षमा २०७२ देखि २०७६ सम्म भूकम्पको नाममा र त्यसपछि झन्डै तीन वर्षदेखि कोरोनाको नाममा चीनले उत्तरी नाका बन्द गरेकोले नेपालले अर्बौं रुपैयाँको घाटा सहनुपरिरहेको छ ।

चीनसँगको व्यापार घाटा बर्सेनि बढ्दै गएको छ । आव २०७५/७६ मा दुई खर्ब पाँच अर्ब ५१ करोड रुपैयाँको आयात भएको देखिन्छ । यस वर्ष नेपालको चीनमा निर्यात भने दुई अर्ब १० करोड रुपैयाँको मात्रै भएको देखिन्छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारी नाका रसुवागढीबाट नेपालले आव २०७६/७७ को पहिलो तीन महीनामा १४ अर्बभन्दा बढीको सामान आयात गरेको छ तर २०७५/७६ को तीन महीनामा १० अर्बभन्दा बढीको सामान आयात भएको थियो । आव २०७६/७७ को पहिलो तीन महीनामा नेपालबाट चीनतर्फ जडीबुटी र हस्तकलाका सामान निर्यात हुने गरेको छ । तातोपानी नाका बन्द भएको अवस्थामा २०७१ सालदेखि औपचारिकरूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा व्यापारी, व्यवसायी र सवारीका चाप बढ्दै गएको थियो । आव २०७७/७८ मा रु एक खर्ब ८१ अर्बको चिनियाँ सामान आयात भएको छ । आव २०७५/७६ मा नेपालको चीनमा निर्यात भने दुई अर्ब १० करोड रुपैयाँ मात्र भएको देखिन्छ । आव २०७७/७८ मा रु एक अर्ब १९ करोडको नेपाली सामान निर्यात भएको देखिन्छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी र तातोपानी नाकाबाट आव २०७७/७८ को अघिल्ला दुई महीनामा कोरोना भाइरसका कारण र चीनबाट बाटो बन्द गरिएको कारण सामान आयात र निर्यात भएको देखिंदैन । २०७७ को दशैं व्यापारका लागि कोलकाता बन्दरगाहबाट सामान मगाउने कुरा भइरहेको थियो । आव २०७७/७८ मा चीनसँग वैदेशिक व्यापार नै भएको देखिंदैन । नेपालको लागि व्यापार घाटा धेरै हुने दोस्रो ठूलो देश चीन पर्दै आएको छ ।


विगतमा चिनियाँ भाषामा मात्रै लेखिएका सामग्रीको नेपाल आयातमा नेपाली पक्षले जाँचपास गर्न छाडेपछि चिनियाँ पक्षले सोको बदलामा नेपाली वस्तुको प्रवेशमा अवरोध गरेको थियो । विगतमा चिनियाँ सामान नेपाल आउँदा चिनियाँ भाषामा लेखिएको हुन्थ्यो अनि नेपाली पक्षले भन्सार तथा क्वारेन्टाइनमा भाषा नबुझेपछि उत्पादन मिति, उपभोग गर्नुपर्ने अन्तिम मितिजस्ता विवरण अङ्ग्रेजीमा लेखेर ल्याउनु भनेसँगै सोको प्रतिक्रियामा नेपाली खाद्य वस्तुका लेबल पनि चिनियाँ भाषामा ल्याउन भनेर चीन सरकारले रोक लगाएको थियो । यसरी विभिन्न बहानामा चीनले नेपाली खाद्य वस्तुको निर्यातमा रोक लगाउँदै आएको छ । नेपालबाट चीनतर्फ जाने खाद्य सामग्रीमा चिनियाँ भाषामा लेबल राख्नुपर्ने नियमले केही महीना निर्यातमा रोक लागेको थियो । त्यसपश्चात् नेपाली सामान चीनतर्फ जान सकेको छैन । नेपाली खाद्य वस्तु निर्यातमा अवरोध आएपछि नेपाली खाद्य सामग्री सहजै चीन निर्यात गर्न पाउनुपर्ने माग गर्दै व्यापारीहरूले चिनियाँ भन्सारसँग माग गर्दै आएका छन् । तर चीनले टेरपुच्छर लगाएको छैन ।

चीनले करीब आठ हजार तीन सय नेपाली उत्पादनलाई शून्य भन्सारमा  चिनियाँ बजारमा प्रवेशका लागि खुला गरेको दाबी गरेको छ । तर शून्य भन्सार सुविधा उपभोग गरी चीन निर्यात गर्ने उत्पादन नै नेपालसित छैन । त्यस्तो उत्पादन भएका निर्यातकर्ताको निर्यात नगण्य रहिआएको छ । एक किसिमले चिनियाँ शर्त भनेको राधाको नौ मन तेल जस्तै हो । नेपालको चाहना अनुसार आफ्ना वस्तुहरूको सूची नेपालले चीनसँग हेरफेरको एजेन्डामा राख्नुपर्ने बताइन्छ तर दुवै देशका उच्चस्तरका नेताहरू एकापसमा भेट हुँदा यस्ता विषयमा छलफल हुँदैन । यसको अर्थ नेपाली पक्षले यस विषयमा वार्ता गर्न चाहे पनि चीनले महŒव दिन नचाहेको हुन सक्छ ।

नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली सात वर्षअघि चीन भ्रमणमा गएका बेला चीनसित थुप्रै सम्झौता गरेका थिए । त्यसलाई भूतो न भविष्यति बताइएको थियो तर धरातलका उपलब्धि शून्य छन् । नेपालले चीनतर्फको चार सामुद्रिक र तीन सुक्खा बन्दरगाहको उपयोग गर्न पाउने सम्झौता भएको सात वर्ष भइसक्दा पनि यसबारे कुनै प्रगति भएको छैन । जबकि तत्कालीन नेकपा एमालेको सरकारले यसलाई ऐतिहासिक उपलब्धिको रूपमा व्याख्या गरेको थियो । प्रचारबाजी गर्नमा वामपन्थीहरूलाई महारथ हासिल भएको हुन्छ । चारवटा सामुद्रिक बन्दरगाह र तीनवटा सुक्खा बन्दरगाहबाट व्यापार र सुविधा हासिल गर्ने कुरा त कहाँ हो, कहाँ उपभोगमा रहेका तातोपानी र केरुङ नाका पनि बन्द छन् । तातोपानी र केरुङमा २०–२२ दिनमा आइपुग्ने सामान अहिले कोलकाताको बाटो ४० दिनमा पुगिरहेको छ ।

२०७२ सालमा आएको भूकम्पको कारण अरनिको राजमार्गसहित तातोपानी नाका पनि क्षतिग्रस्त हुन गएको थियो । अरनिको राजमार्ग चीनसितको व्यापारमा महŒवपूर्ण नाका हो । चीनजस्तो विश्वको उदाउँदो शक्ति राष्ट्रको निम्ति अरनिको राजमार्गको मरम्मत सम्भार तथा तातोपानी नाकाको पुनर्निर्माण असम्भव थिएन तर चीनले यसमा कुनै चासो नै लिएन, बरु तातोपानी क्ष्Fेत्रभन्दा केही किलोमिटर अझ भित्र नै आफ्नो अनुकूलताको हिसाबले नयाँ कार्यालय सञ्चालनमा ल्याएको बुझिन्छ । भूकम्पको बहानामा करीब पाँच वर्षसम्म सीमानाका बन्द गरेको चीनले कोभिड–१९ को समयमा शुरूमैं आफ्नो नाकालाई आयात–निर्यातको निम्ति बन्द गरेको थियो । बीचमा फाटफुटरूपमा नाका खोल्ने गरेको भएपनि आफूलाई मन नपरे नाका बन्द पनि गर्दै आएको छ । हाल पनि चीनमा कोभिडको प्रकोप बढेको अथवा बढ्न सक्ने आशङ्कामा तातोपानी नाकाबाट आयात पनि रोकेको छ । रसुवा नाका पनि बन्द नै गरिएको छ । आयात रोकिनुअघिसम्म नाकाबाट प्रतिदिन १४ वटा कन्टेनरसम्म चिनियाँ सामान आयात भइरहेको थियो । नाका बन्द भएपछि व्यापारिक सामान तिब्बतमैं रोकिएका छन् । ५० कन्टेनर सामान नेपाल ल्याउन लोड भएर राखिएको थियो । ती कन्टेनरमा तीज र दशैंका लागि सामान लोड थिए तर रोक लगाइएको छ । गत वर्ष पनि नेपाली व्यापारीहरू यसरी नै मर्कामा परेका थिए । दशैं, तिहार र जाडोको मौसमका लागि चीनबाट ल्याउन खोजिएका कपडा सयकडौं ट्रकलाई चिनियाँ नाकामा महीनौंसम्म रोकेर राखिएको थियो । यसले गर्दा नेपाली उपभोक्ताहरू महँगोमा लुगा किन्न बाध्य भएका थिए । भूकम्पपछि चिनियाँहरूकै इच्छा र चाहना अनुसार तातोपानी नाका धेरैपटक खुल्दै र बन्द हुँदै आएको छ । पटक–पटक नाका बन्द हुने गरेका कारण डेढ हजार जति मालवाहक कन्टेनर, २८ सय चालक र पाँच हजार मजदूर परिवार बेरोजगार भएका छन् । भर्खरै सम्पन्न नेपालका परराष्ट्रमन्त्रीको चीन भ्रमणले सीमानाका सुचारु हुने सम्भावना जगाएको छ तर व्यवहारमा त अहिले पनि पुरानै अवस्था अर्थात् बन्दकै अवस्था छ ।

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli