Italian Trulli
Italian Trulli

शिकारीवासको पीडा


 प्रताप श्रेष्ठ, वीरगञ्ज ।

यस वर्ष पनि शिकारीवासका किसानले चैते धान भित्र्याउन नपाउने भए । पाक्नै लागेको धानमा जङ्गली हात्तीको बथान पसेपछि यो त्रास बढेको हो । यसपटक केही महीनादेखि  बस्तीमा हात्ती पसेको थिएन । धान पाक्नै लागेपछि हात्ती आयो । केही महीना बस्तीमा हात्ती प्रवेश नगर्दा किसानहरूमा ‘यसपटक  धान भित्रयाउन पाइने भयो’ भन्ने आस पलाएको थियो । अकस्मात् हात्तीको हुल नै खेतमा पसेर धान विनाश गर्न थाले पछि किसानको आशा निराशामा परिणत हुने अवस्था आएको छ । बथानसहित आउने हात्तीले एकै रात कैयौं बिघा बाली स्वाहा पारिदिन्छ । एकपटक पल्केपछि वा बाली खान लायक भएको छ भन्ने थाहा पाए पछि नसकिउन्जेल हाती आइरहन्छ । हात्तीको बथान खेतबाट हिंड्यो मात्रै भने पनि कुल्चीएर त्यहाँको बाली टिप्न लायक हुँदैन । सिंचाइ सुविधा रहेको शिकारीवासको माटो मलिलो छ । यहाँ वर्षमा तीन बाली लगाउन सकिन्छ, तर जङ्गली जनावरको कारण जति बाली लगाए पनि भित्र्याउन भने भगवान भरोसे छ । हरेक वर्ष, हरेक बाली जङ्गली जनावरले विनाश गर्छ । सबै भन्दा धेरै क्षति जङ्गली हातीबाट हुन्छ । अन्य जनावरलाई जस्तो यसलाई धपाउन पनि सजिलो छैन । फेरि पनि शिकारीवासका आदिवासी थारूहरूले जङ्गली जनावरसँग दिनरात सङ्घर्ष गर्दै जति बचाउन सकियो आफ्नो भाग्य ठानेर चित्त बुझाउने गरेका छन् ।


ठोरी गाउँपालिकाको वडा नं. –३ स्थित शिकारीवास, ऐतिहासिक तथा पालिकाकै जेठो बस्तीमध्ये एक हो । पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जको दोसाँध, जङ्गलबीच रहेको यो बस्ती सडक, सञ्चार, बिजुली, स्वच्छ पिउने पानीलगायत आधारभूत मानवीय सेवाबाट वञ्चित छ । लगभग ०।५ वर्गकिलोमिटर क्षेत्रफल रहेको शिकारीवासमा विस्थापित हुने क्रमसँगै हाल करीब ४५ घरधुरीको बसोवास छ । उनीहरू अधिकांश सुकुम्बासी हुन् । अरूको जमीनमा अधिया वा ठेक्कामा बाली लगाउने आदिवासी थारूहरू, जङ्गली जनावरकै कारण हरेक बालीमा घाटा बेहोर्न बाध्य छन् । जग्गावालाहरू यहाँ बस्दैनन् । पुस्तौंदेखि यही बस्तीका मूल बासिन्दा थारू अन्यत्र जान पनि सक्दैनन् । मुख्यतः शिकारीवाससँग उनीहरूको पहिचान जोडिएको छ । यहाँको वातावरणसँग उनीहरूको भावनात्मक सम्बन्ध छ । अर्कोतर्फ अन्यत्र बसाइँ सर्नका लागि सम्पत्ति र शिक्षा हुनुप¥यो । उनीहरूसँग धन, सम्पत्ति छैन । शिक्षामा पछि परेको छ । बस्ती स्थानान्तरणको कुरा बेलाबेला उठ्ने गर्छ, तर सुकुम्बासी थारू समुदायको लागि जग्गाको प्रत्याभूति कतैबाट पनि आउन सकेको छैन ।


निकुञ्जको रेकर्ड अनुसार पर्सा जिल्लामा सबैभन्दा बढी हात्तीले बाली विनाश गर्ने ठाउँ शिकारीवास हो । गर्ने हो भने उपाय धेरै छ, तर चासो कसैले दिंंदैनन् । शिकारीवासका बासिन्दाले लगाउने बाली जंगली जनावरकै लागि लगाई दिए सरह हो । यसले वन्यजनन्तुलाई प्रत्यक्षरुपमा फाइदा पुगेको छ । उसो हो भने जङ्गली जनावरको लागि बाली लगाइदिएबापत किसानले बाली अनुसार पारिश्रमिक पाउने व्यवस्था हुनु पर्ने हो । यसो हुने हो भने  जनावर दिउँसै आए पनि लखेटिंदैन । किसानले जंगली जनावरको लागि बाली लगाइदिने, सो वापत सरकारले पैसा दिने । बस्तीलाई बाली चरनस्थलको रुपमा प्रयोग गर्ने ।   ंजंगली जनावर प्रत्यक्ष हेर्न पाउने भए पछि बस्तीमा पर्यटकको धुइरो लाग्न सक्छ । हाल निकुञ्जले बाली राहतको व्यवस्था गरेको भए तापनि प्रक्रिया झन्झटिलो भएको कारण लक्षित वर्गले पाउन सकेको छैन । अधिया वा ठेक्कामा लगाउने किसानहरूसंग जग्गा धनि पुर्जा नहुने र राहतका लागि पुर्जा नै चाहिने हुँदा धेरैले राहत पाइरहेका छैनन् । अर्को विकल्प पनि छ, आरसिसी वालसहितको सोलार फेन्स राखेर बस्ती र बाली सुरक्षित गर्न सकिन्छ । त्यसो पनि गर्न सकिन्न भने अझ अर्को विकल्प –जनावर नलाग्ने, जडिबुटी खेती गराउन सकिन्छ । जतिबुटी खेतीका लागि दक्ष प्रविधिक, विउविजन र बजार व्यवस्था सरकारले गरिदिनु पर्छ । जडिबुटीको माग स्वदेश देखि विदेशसम्म छ । निकुञ्ज अति पीडित बस्तीका बासिन्दाको अधिकार पनि हो । अन्यत्रका बासिन्दा सो सरह आफनो जिउधनको सुरक्षा सहित बाँच्न पाउने अधिकार शिकारीवासका बासिन्दाको पनि हो । अधिकार प्राप्तीका लागि लागि निति निर्माणको तहसम्म सोझा गाउँलेको पहुँच छैन । पहुँचमा पुगेकाहरूले यहाँको पिडा बुझ्दैनन् ।



प्रतीक दैनिकबाट साभार गरिएको

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli