बेइजिङः चीनले संसारकै तेस्रो ठूलो वायु सैन्य बल तयार गरेको छ। चीनको पिपुल्स लिवरेसन आर्मी एयर फोर्स (पीएलएएएफ) र पिपुल्स लिवरेसन आर्मी नेभी (पीएलएएन)ले संसारकै तेस्रो ठूलो वायु सैन्य बल तयार गरेको हो।
दक्षिण चीन सागरमा अमेरिकी सेनाको बढ्दो उपस्थितिलाई मध्यनजर राख्दै आफूले सो तयारी गरेको चीनको दाबी छ। अमेरिकी रक्षा विभागद्वारा नोभेम्बरमा जारी वार्षिक प्रतिवेदनले चीनले दक्षिण एसियाकै ठूलो र संसारको तेस्रो ठूलो वायु रक्षा बल तयार गरेको जानकारी दिएको हो।
विभागका अनुसार ड्रोन र ट्रेनर विमानबाहेक पीएलएएएफ र पीएलएएनसँग हालः हाराहारी २८ सय सैन्य विमान छन्। जसमध्ये २२ सय ५० लडाकु विमान हुन् भने ६ सय विमान फोर्थ जेनेरेसन जेट विमान हुन्। लामो दूरीसम्म वायु शक्ति ओगट्न, आक्रामक र रक्षात्मक कार्यको लागि चीनले वायु क्षमता तयार गरेको विभागको रिपोर्टमा उल्लेख छ।
हालसम्म संसारमा सबैभन्दा ठूलो वायु सेना बल अमेरिकासँग छ भने दोस्रो ठूलो वायु सेना बल रुससँग छ।
इराकको सुरक्षित क्षेत्रमा दुईवटा रकेट प्रहार
बग्दादः इराकको राजधानी बग्दादस्थित सुरक्षित क्षेत्रमा दुईवटा रकेट प्रहार भएका छन्। बग्दादस्थित अमेरिकी दूतावासलाई लक्षित गर्दै सो क्षेत्रमा आइतबार बिहानै दुई वटा रकेट प्रहार भएका हुन्।
स्थानीय मिडियाकाअनुसार अमेरिकी दूतावाससहित इराकका अधिकांश सरकारी कार्यालय भएको ग्रिन जोन क्षेत्रमा आइतबार बिहानै दुई वटा रकेट प्रहार भएका हुन्। जसमध्ये एउटा रकेटलाई सी र्याम डिफेन्स प्रणालीमार्फत् नष्ट गरिएको छ भने दोस्रो रकेट नजिकैको क्षेत्रमा खस्दा दुईवटा कारमा क्षति पुगेको छ।
यद्यपि सो रकेट प्रहारबाट अन्य क्षति भने नभएको बताइएको छ। रकेट प्रहार किन र कसले गरेको भन्नेबारे अनुसन्धान भइरहेको बताइएको छ।
भारतमा कुकुरसँगको बदलामा बाँदरले लियो २५० कुकुरको ज्यान
महाराष्ट्रः भारतको महाराष्ट्र राज्यस्थित बीड जिल्लामा बाँदरको एक समूहले कुकुरसँग बदला लिएको छ। स्थानीयका अनुसार कुकुरले आफ्नो बच्चालाई मारेको भन्दै बाँदरको समूहले बदला लिएको हो। बदलामा बाँदरले २५० कुकुरको ज्यान लिएको भारतीय मिडियामा खबर छ। बाँदरले लिएको बदला देखेर आफूहरु हैरान बनेको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार केही हप्ताअघि केही कुकुरले बाँदरको बच्चालाई लखेटी लखेटी मारेका थिए। कुकुरले आफ्नो बच्चा मारेको बदला लिन बाँदरहरुको एक समूह बन्यो र सो समूहले आफ्नो क्षेत्रभित्र रहेका करिब २५० कुकुरको ज्यान लिएको हो। हालः गाउँमा कुनै पनि कुकुर बाँकी नरहेको स्थानीयले बताएका छन्। बाँदरले कुकुर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरलसमेत बनेको छ।
मलेसियामा भीषण बाढी, २१ हजार बढी विस्थापित
क्वालालम्पुरः मलेसियामा भीषण बाढीपछि २१ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। शनिबार मुसलधारे वर्षापछि आएको बाढीका कारण २१ हजारभन्दा बढी मानिस विस्थापित भएका हुन्।
स्थानीय मिडिया बेर्नमामा आइतबार प्रकाशित समाचारअनुसार मलेसियाका सातवटा राज्य बाढीले प्रभावित बनेका छन्। सातवटा राज्यमध्ये पेरक राज्य सबैभन्दा बढी प्रभावित बनेको छ। बाढीपछि उद्धार गरिएका सबैलाई राहत केन्द्रहरुमा पुर्याइएको छ।
मलेसियामा शुक्रबार बिहानैदेखि भारी वर्षा भएको थियो। शनिबार परेको वर्षापछि भीषण बाढी आएको थियो। बाढीका कारण दर्जनौ सडक र भवनहरुमा क्षती पुगेको छ। बाढीपछि उद्धार र राहत वितरणको लागि ६६ हजारभन्दा बढी प्रहरी र सेनालाई प्रभावित क्षेत्रमा खटाइएको त्यहाँको सरकारले बताएको छ।
अष्ट्रेलियामा विमान दुर्घटनामा ४ जनाको मृत्यु
मोरेटनः अष्ट्रेलियाको पूर्वी कोस्टमा विमान दुर्घटना हुँदा चार यात्रुको मृत्यु भएको छ। पूर्वी कोस्टस्थित मोरेटन बेस्थित आइतबार विमान दुर्घटना हुँदा बालबालिकासहित चारको मृत्यु भएको थियो।
रकवेल इन्टरनेसनल नामक सो विमान आइतबार विहान पानीमा खसेको थियो। ६९ वर्षीय पाइलटले तीन यात्रुसहित विमान चलाएका थिए। विमानमा सवार यात्रु घुम्न निस्केका थिए। सोही क्रममा विमान दुर्घटनामा परी विमान चालकसहित अन्य तीनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक सबैको पहिचान हुन नसकेको र विमान दुर्घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
बेलायतले युक्रेनलाई सेना नपठाउने
लण्डनः बेलायत र बेलायत सहयोगीहरुले रुसविरुद्ध युक्रनेमा सेना नपठाउने भएका छन्। रुसले युक्रेनमाथि आक्रमण गरेमा ती निकायहरुले युक्रेनमा सेना नपठाउने भएका हुन्।
बेलायती रक्षा सचिव वेन वालेसले विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन्। बिहीबार युक्रेनका रक्षामन्त्री ओलेस्की युरियोभ्यच रेज्नीकोभ र रक्षा सचिव वालेसल संयुक्त विज्ञप्ति जारी गर्दै रुसले आक्रमण गरेमा बेलायतले सहयोग स्वरुप युक्रेनमा सेना पठाउने बताएका थिए।
तर सो सम्झौतापछि वालेसले स्थानीय मिडियासँग बोल्दै बेलायत र आफ्ना सहयोगीहरुले युक्रेनमा सेना नपठाउने बताएका हुन्। ‘युक्रेन नाटोको सदस्य मुलुक होइन। त्यसैले बेलायत र सहयोगीहरुले रुसविरुद्ध युक्रेनमा सेना पठाउने सम्भावना नै छैन,’ वालेसले भनेका छन्।
रुसले युक्रेनको सीमा नजिकै ठूलो संख्यामा सेना तैनाथ गरेको र रुसी सेनाले युक्रेनमाथि जुनसुकै समयमा आक्रमण गर्न सक्ने युक्रेनको भनाइ छ।
रुसले फेसबुकलाई तिरायो २ लाख डलर बढी जरिवाना
मस्कोः फेसबुकले रुसलाई २ लाख ३० हजार अमेरिकी डलर जरिवाना तिरेको छ। रुसले अवैध ठानेको सामग्री हटाउन असफल बनेको भन्दै फेसबुकले सो रकम जरिवाना स्वरुप तिर्नुपरेको हो। इन्टरफ्याक्स न्युजमा आइतबार प्रकाशित समाचारअनुसार रुस सरकारले अवैध ठहराएका अवैध सामग्री हटाउन नसकेको भन्दै फेसबुकले सो रकम जरिवाना तिर्नुपरेको हो। यद्यपि, फेसबुकले भने सो सामग्रीप्रति कुनै प्रतिक्रिया नजनाएको बताइएको छ। फेसबुकको मेटा भर्सन, गुगल र ट्वीटरले समेत अदालतमा फेसबुकको जस्तै मुद्दा सामना गरिरहेका छन्।
प्रदर्शनकारीविरुद्ध सुडानमा सुरक्षाकर्मी तैनाथ
खार्तुमः सुडानको राजधानी खार्तुममा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ। सैन्य शासनको विरोधमा प्रदर्शनीमा उत्रिएका नागरिकविरुद्ध सुडान सेनाले आइतबार ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको हो।
सुरक्षाकर्मीहरुले आइतबार राजधानी खार्तुमका सडक र पुलहरु अवरुद्ध गरेको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। सुडान सेनाले अक्टोबर २५ मा सैन्य 'कू' लागू गरेको थियो। त्यसयता त्यहाँका जनताले सैन्य शासनको विरोध गर्दै आएका छन्।
देशमा नयाँ सरकार नबनेसम्म आफूले सत्ता नछोड्ने सुडान सेनाले बताएको छ। असल सरकार बनेलगत्तै सेनाले देशको राजनीतिमा कहिल्यै पनि हस्तक्षेप नगर्नेसमेत सेनाले जनाएको छ।
नेदल्याण्डमा पुनः लकडाउन
आम्स्डमः नेदरल्याण्ड सरकारले पुनः लकडाउनको घोषणा गरेको छ। कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि सरकारले आइतबारदेखि लागू हुनेगरी राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको हो।
नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटेले पत्रकार सम्मेलनमार्फत् सो जानकारी दिएका हुन्। नजिकिदै गरेको क्रिसमसमा ओमिक्रोन भेरियन्ट संक्रमण झन धेरै फैलनसक्ने भन्दै सर्तकता स्वरुप लकडाउनको निर्णय गरेको उनले बताएका छन्।
डेनमार्क, आयरल्याण्ड, स्विजरल्याण्ड, फ्रान्स र इटालीलगायत मुलुकले कोभिड मापदण्डमा कडाई गरेका छन् भने अन्य युरोपेली मुलुकले समेत लकडाउनको तयारी गरिरहेको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। यता जर्मन सरकारले बेलायतबाट जर्मन प्रवेश गर्ने सबै यात्रुहरुको लागि सोमबारदेखि क्वारेन्टीनको नियम अनिवार्य बनाएको छ। विभिन्न युरोपेली मुलुकमा ओमिक्रोन भेरियन्ट तीव्ररुपमा फैलिरहेको बताइएको छ।