Italian Trulli
Italian Trulli

एमसीसीबारे छलफल गर्न आज सर्वदलिय बैठक, एमालेले बहिस्कार गर्ने

 काठमाडौं । प्रमुख विपक्षी दल एमालेले जारी राखेको अवरोधका कारण संसद् चल्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार (आज) ४ बजे बस्नेगरी सर्वदलीय बैठक बोलाएका छन् ।

 सत्ता साझेदार दलको शनिबार बसेको बैठकपछि प्रधानमन्त्री देउवाले संसद्मा प्रतिनिधित्व गर्ने सबै दलको सहभागिता रहनेगरी सर्वदलीय बैठक बोलाएका हुन् । यद्यपि, प्रमुख विपक्षी एमालेले बैठकमा आफ्नो सहभागिता नहुने जनाइसकेको छ । एमालेले गत २३ भदौदेखि प्रतिनिधिसभाका हरेक बैठकमा अवरोध र विरोध गरिरहेको छ । प्रतिनिधिसभाको अर्काे बैठक ६ पुसमा बस्दै छ ।

प्रधानमन्त्री देउवा एमाले अवरोध हटाउने विषयमा सहमत भए अन्य एजेन्डालाई छलफलमा लैजान तयार देखिएका छन् । संसद् खुलाउन एमाले तयार भए संसद्मा लग्ने बिजनेसका विषयमा पनि छलफल गर्ने देउवाको तयारी छ ।

 एमालेको निरन्तर अवरोधकै कारण केही महत्वपूर्ण विधेयक र अध्यादेश संसद्मा पेस हुन सकेको छैन । यसैगरी, एमसीसीको विषय पनि संसद्मा टेबल हुन सकेको छैन । स्रोतका अनुसार, संसद् अवरोध मात्र नभई मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी ) बारे पनि छलफल गर्न पनि सर्वदलीय बैठक बोलाइएको हो । 

यद्यपि, सर्वदलीय बैठकमा पेस गरिने एजेन्डा’ साझा धारणा बनाउन आइतबार दिउँसो २ बजे सत्तारूढ गठबन्धनको बैठक बस्ने सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

एमालेले बहिष्कार गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले बहिष्कार गर्ने भएको छ । एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सर्वदलीय बैठकमा एमाले सहभागी नहुने बताए ।
सर्वदलीय बैठकबाट आफूहरूको माग सम्बोधन हुन नसक्ने भएकाले सहभागी हुनुको औचित्य नभएको उनले बताए । कांग्रेस र एमालेबीच दुई पक्षीय बैठक वा छलफल भयो भने आफूहरू जाने तर एकीकृत समाजवादी, माओवादी केन्द्रसहितको बैठकमा जानु आवश्यक नभएको उनको भनाइ छ । 

आफूहरूले कारबाही गरेका सांसदको सूचना सभामुख अग्नि सापकोटाले टाँस नगरेको आरोप लगाउँदै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ । यसअघि सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकसमेत एमालेले बहिष्कार गरेको थियो ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पनि सर्वदलीय बैठकमा एमाले सहभागी नहुने बताए । उनले प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकको कुनै औचित्य नभएको बताए ।  

 काठमाडौंमा आयोजित एक कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले सभामुखले गल्ती सच्याएर पार्टीले कारबाही गरेका सांसदको सूचना टाँस गर्नुपर्ने वा सभामुखले राजीनामा गर्नुपर्ने माग गरेका थिए ।

 एमाले दोस्रो केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सभामुखले आफ्नो गल्ती सच्याउनुपर्ने वा राजीनामा गर्नुपर्ने बताएका थिए । 

‘संसद् बैठकमा जारी अवरोध हटाउनका लागि सत्तापक्षले नै भूमिका खेल्नुपर्ने हुन्छ,’ महासचिव पोखरेलले भने, ‘सभामुखले आफ्नो गल्ती सच्याउनुपर्छ वा राजीनामा दिनुपर्छ ।’

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli