२६ मंसिर, काठमाडौं । पन्ध्रौं विश्व फिना पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा सहभागी हुन नेपाल पौडी टोली सोमबार आबुधाबी जाँदैछ ।
डिसेम्बर १५ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष र महिला गरी ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुषको २ सय मिटर फ्रिस्टाइल र व्यक्तिगत मिड्लेमा नासिर हुसैन तथा ५० र १ सय फ्रिस्टाइलमा एलेक्स शाहले प्रतिस्पर्धा गर्नेछन् । महिलाको ५० र १ सय मिटर फ्रिस्टाइलमा अनुश्रिया तण्डुकार तथा ५० र १ सय मिटर ब्रेस्ट स्ट्रोकमा उपास्ती महर्जनले सहभागिता जनाउने छन् ।
अमेरिकामा रहेका एलेक्स त्यतैबाट आबुधाबी जाने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएका छन् ।प्रशिक्षकमा नयना शाक्य तथा व्यवस्थापकमा अनिश महर्जन रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।
सदस्यसचिव घिसिङले नयाँ उपलब्धी हासिल गर्न खेलाडीलाई उच्च मनोबलका साथ प्रदर्शन गर्ने बताउदै खेलाडीले व्यवस्थापनमा नभइ आफ्नो खेल र प्रशिक्षणतिर मात्र ध्यान दिन आवश्यक रहेको बताए । उनले राष्ट्रिय टिमको प्रदर्शन व्यवस्थित गर्न राखेपले हाइ पर्फमेन्स कमिटी गठनको तयारी गरिरहेको जानकारी गराए ।