१९ असोज, हेटौंडा। हेटौंडामा बजार अनुगमनको क्रममा तीनवटा पसल सञ्चालक कारबाहीमा परेका छन् । संयुक्त बजार अनुगमन टोलीले बजार अनुगमनको क्रममा उपभोक्ता हित विपरीत काम गर्ने पसल सञ्चालकलाई कारबाही गरेको हो ।
तीनवटा पसललाई कारबाही गरेर ४० हजार रुपैयाँ जरिवाना समेत असुल गरिएको र एउटा औषधि पसलमा तालाबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
नजिकिँदै गरेको दशैं, तिहार, छठ लगायत चाडपर्वलाई लक्षित गरेर मकवानपुरमा असोज ११ गतेदेखि नै सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वको बजार अनुगमन टोलीले बजार अनुगमन गरिरहेको छ । अनुगमन टोलीले ५७ वटा खाद्यान्न तथा किराना पसल, २७ वटा होटल तथा रेष्टुरेण्ट र ११ वटा औषधि पसलको अनुगमन गरिसकेको छ ।
खरिद बिल पेश नगरेको एउटा खाद्यान्न तथा किराना पसललाई १५ हजार, मूल्यसूची नराखेको र सरसफाइमा समेत ध्यान नदिएकाले एउटा होटललाई १० हजार रुपैयाँ र फार्मेसिष्ट नराखी औषधि बिक्री गर्ने औषधि पसलमा ताला लगाउनुको साथै एउटा औषधि पसललाई १५ हजार रुपैयाँ जरिवाना लिइएको प्रशासकीय अधिकृत गुणराजप्रसाद न्यौपानेले जानकारी दिए ।
अनुगमनका क्रममा व्यवसायीलाई मूल्यसूची प्रष्ट देखिने ठाउँमा राख्न, सरसफाइ गर्न, ग्राहकलाई बिल दिन, मास्क लगाउन तथा भीडभाड नगरी वस्तु तथा सेवा बिक्री गर्न सुझाव दिइएको उनले बताए ।