चितवन १९ असोज । चितवनको भरतपुरमा सञ्चालनमा रहेका ६ मेडिकललाई स्थानीय प्रशासनले कारबाही गरेको छ। कारवाहीमा परेका मेडिकलबाट प्रशासनले रु पाँच हजारदेखि रु तीन लाखसम्म जरिवाना गरेको छ। जिल्ला प्रशासन कार्यालयका मुद्दा शाखाका नायव सुब्बा गोपीचन्द्र दवाडीका अनुसार कारबाहीमा पर्नेमा भरतपुरको चौबीसकोठीस्थित नवल टेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक, नवल पोलिक्लिनिक, मिराकल फर्मा, रिजन फार्मेसी र अपोलो डेन्टल छन्।
सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माका अनुसार नवल टेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक र नवल पोलिक्लिनिकलाई रु तीन/तीन लाख जरिवाना गरिएको छ। मिराकल फर्मालाई रु दुई लाख ५० हजार, रिजन फार्मेसीलाई रु २० हजार र अपोलो डेन्टल क्लिनिकलाई रु पाँच हजार जरिवाना तोकिएको उनले बताए।
मापदण्ड पूरा नगरेको, खरिद बिक्री बिल नराखेको, दक्ष जनशक्तिको नियुक्त र शैक्षिक प्रमाणपत्र नराखेको, बढी मूल्यमा बिक्री गरेको, समय सकिएका औषधि छुट्टै नराखी एकै ठाउँमा राखेको, अनुमति नलिई सञ्चालन गरेकोलगायत कारण उनीहरुलाई कारबाही गरिएको शर्माले बताए। चाडपर्वको समयमा स्थानीय प्रशासनले अनुगमनलाई तीव्र पारेको छ।
Tags:
business