Italian Trulli
Italian Trulli

दसैँमा ५० हजार खसीबोका काठमाडौँ ल्याइने

 

सरकारले तीन हजार खसीबोका र च्याङ्ग्रा बेच्ने  

126Shares
facebook sharing button
twitter sharing button
pinterest sharing button
email sharing button
messenger sharing button
sharethis sharing button

असोज ७, विगतका वर्षहरुमा झै यो वर्षको दसैँमा पनि सरकार र व्यापारीले गरेर ५० हजार हाराहारी खसीबोका काठमाडौँ उपत्यका ल्याउने भएका छन् । विगतका वर्षहरूमा भएको खपतलाई मध्यनजरमा राख्दै यो वर्षको दसैँका लागि उक्त सङ्ख्याका खसीबोका ल्याउने भएका हुन् ।

जसमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ल्याउने दुई हजार वटा खसीबोका समेत सामेल छन् । योसहित, उपत्यकाको दसैँ माग धान्न ५० हजारभन्दा बढी खसीबोका भित्रिने पशुसेवा विभागले जानकारी दिएको छ । सूचना अधिकारी डा. चन्द्र ढकालले खसीबोका बिक्रेता र उत्पादकले यो वर्षको दसैँमा ५० हजारभन्दा बढी खसीबोका खपत हुने जानकारी विभागलाई दिएको बताए ।

विभागले नेपाल व्यावसायिक बाख्रा पालक महासंघ, चौपाया खरिद बिक्री सेवा संघ, बाख्रा पालन महिला सहकारी लगायतका संस्थासँग छलफल गरिसकेको छ । दसैँ लक्षित छलफलले विगतका वर्षहरूमा जस्तै यो वर्षपनि ५० हजार हाराहारीमा खसीबोका खपत हुने निष्कर्ष निस्केको डा. ढकालले रातोपाटीलाई बताए ।


के भन्छन् उत्पादक ?

दसैँको समयमा उपत्यकाबाट हुने सबै माग नेपालको उत्पादनले नै धान्ने व्यावसायिक बाख्रा पालकहरू बताउँछन् । नेपाल व्यवसायी बाख्रा पालक महासंघ दसैँको समयमा देशभरको माग धान्ने बताउँछ ।

महासंघका अध्यक्ष प्रेमसागर पौडेलले दसैँको समयमा उपत्यकामा मात्रै ५० हजार वटा खसीबोका खपत हुने र उक्त माग धान्न तयार रहेको बताए । उनले रातोपाटीसँग भने, ‘बजारको माग धान्न तयार छौँ । तर, काठमाडौँका व्यापारी ठूला÷ठूला ट्रकमा लग्न चाहन्छन् । त्यसरी, नेपाली उत्पादन लग्न मिल्दैन ।’

नेपाली कृषकले पालेका बाख्रा सङ्कलन केन्द्र नहुँदा घर–घरबाटै सङ्कलन गर्नुपर्ने स्थिति छ । त्यसैले, एकैपटक ठूला ट्रकमा लग्न सम्भव छैन् । एकै पटक लग्दा ढुवानी खर्च जोगिने भएका व्यापारी यसरी उपत्यका ल्याउन चाहन्छन् । तर, यसरी ठूलो परिणाममा उपत्यकामा खसीबोका ल्याउन भारतबाट बाहेक सम्भव नभएकाले चोरीनिकासीको सम्भावना रहेको महासंघका अध्यक्ष पौडेलले जानकारी दिए ।

दसैँमा ८१ करोडको खसीबोका

यस वर्षको दसैँमा काठमाडौँ उपत्यकामा ५० हजार हाराहारी खसीबोका खपत हुने आङ्कलन छ । पशुसेवा र व्यावसायीले उक्त सङ्ख्याका खसीबोका खपत हुने आङ्कलन गरेका हुन् । उपत्यकामा बिक्री हुने खसीबोका औसतमा २५ किलो हुने कलंकी खसी बजारका व्यवस्थापक जीवन खतिवडाले जानकारी दिए ।

यसअनुसार, ५० हजार खसीबोकाको औसत २५ किलो तौलले कुल १२ लाख ५० हजार किलो खसीबोका बेच्नका लागि उपत्यका ल्याइन्छ । हाल काठमाडौँ उपत्यकामा जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६५० रुपैयाँ छ । जसअनुसार, १२ लाख ५० हजार किलो खसीबोकाको औसत मूल्य ८१ करोड २५ लाख हुन आउँछ ।

यसले यो वर्षको दसैँमा उपत्यकामा मात्रै ८१ करोड रुपैयाँभन्दा बढीको खसीबोकाको मासु खपत हुने देखाउँछ ।

सरकारले तीन हजार खसीबोका र च्याङ्ग्रा बेच्ने

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दसैँमा दुई हजार वटा खसीबोका बेच्ने तयारी गरेको छ । यस्तै, एक हजार वटा च्याङ्ग्रा पनि उपत्यकामा ल्याएर बेच्ने तयारी थालेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने अधिकारीले रातोपाटीलाई बताइन् ।

उनले दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा किन्न व्यापार कम्पनीले करिब सात करोड रुपैयाँ छुट्याएको बताइन् । भनिन्, ‘घटस्थापनाको दिनदेखि हामीले बिक्री सुरु गर्छौँ । त्यसभन्दा अगाडी काठमाडौँ ल्याएर राख्ने ठाउँ नि हुँदैन । त्यसैले घटस्थापनाको आसपास नै आइपुग्छन् ।’

कम्पनीले गत वर्ष १६ सय खसीबोका र १४ सय च्याङ्ग्रा उपत्यका ल्याएर बिक्री गर्ने योजना बनाएको थियो । तर, अन्तिममा च्याङ्ग्रा ल्याउन सकेको थिएन भने १५ सय वटा मात्रै खसीबोका ल्याएको थियो ।

कस्तो छ उत्पादन र खपतको स्थिति ?

पशु सेवा विभागका अनुसार नेपालमा प्रत्येक वर्ष १ करोड २८ लाख खसीबोका र बाख्रा उत्पादन हुन्छन् । जसमध्ये ४५ लाख खसीबोका मासुका लागि योग्य हुन्छन् । यसैगरी, काठमाडौँ उपत्यकामा दैनिक एक हजार २०० वटा खसीबोका मासुका काटिन्छन् । जुन, दसैँको चार दिनको अवधिमा थप ५० हजार खसीबोका खपत हुने विभागको भनाई छ ।

विभागलाई बाख्रा पालक महासंघले हालसालै दिएको तथ्याङ्कअनुसार हाल नेपालमा मासिक खपतयोग्य बाख्राको सङ्ख्या २७ देखि ३० हजार हाराहारीमा छन् । जसमध्ये सबैभन्दा धेरै बाख्रा बागमती प्रदेशमा उपलब्ध छन् । यो प्रदेशमा १४ हजार बाख्रा मासिक खानयोग्य हुन्छन् । यी खसीबोका तथा बाख्रा यो पटकको दसैँमा पनि मासुका लागि योग्य छन् ।

यसपछि, सुदूरपश्चिममा ४ हजार, लुम्बिनी र कर्णालीमा २५÷२५ सय, प्रदेश १ र २ प्रदेशमा सम्मान २÷२ हजार खसीबोका तथा बाख्रा उपभोगयोग्य छन् । यसरी उपलब्ध गराएको तथ्याङ्क महासंघमा आबद्ध ३५ सय व्यवसायीसँगको हो । महासंघमा आबद्ध नभएका र व्यक्तिगतरुपमा बाख्रा पालन गरिरहेका व्यवसायीहरूसँगको तथ्याङ्क जोड्दा ५० हजार खसीबोका खानयोग्य हुने जानकारी महासंघले विभागलाई दिएको छ ।

​सूचना अधिकारी डा. ढकालले नेपालमा वार्षिक ५ लाख ४९ हजार ३३२ मेट्रिक टन मासु खपत हुने बताए । तर, यो तथ्याङ्क खसीबोकाको मात्र नभई सबै प्रकारका मासुको तथ्याङ्क हो । जसमध्ये ३९८ मेट्रिक टन मासु भारतीय बजारबाट आउँछ भने ५ लाख ४८ हजार ९३४ मेट्रिक टन मासु नेपालकै बजारले उत्पादन गर्छ ।

यो तथ्याङ्कले नेपाल मासु उत्पादनमा आत्मनिर्भरतर्फ अगाडी बढिरहेको विभागले रातोपाटीलाई जानकारी दिएको छ । खासगरी, २०७५ सालदेखि भारतबाट ल्याइने पशुपन्छीको क्वारेन्टाइन र स्वास्थ्य परीक्षण अनिवार्य गरेपछि आयात ह्वात्तै घटेको सूचना अधिकारी डा. ढकालले बताए । यससँगै, पशुपन्छीको आयात गर्दा लाग्ने ५ प्रतिशत भन्सार बढाएर १० प्रतिशत पुर्‍याउँदा समेत आयात घटेको हो ।

विभागले भन्सार दर बढाउनुका साथै क्वारेन्टाइन परीक्षण गर्न शुरु गरेपछि भारतबाट हुने आयात ठप्प जस्तै भएको छ । यो व्यवस्था लागू हुनुअगाडि २०७४ सालमा भारतबाट एक वर्षमा ५ लाख २१ हजार वटा खसीबोका आयात भएका थिए । तर, २०७५ सालमा अनिवार्य क्वारेन्टाइनको व्यवस्था र भन्सार वृद्धि भएपछि घट्दै २०७७ सालसम्म आइपुग्दा जम्मा ८ हजार २०० वटा खसीबोका नेपाल भित्रिएका थिए ।

व्यवसायीलाई चोरी निकासीको डर

पशु सेवा विभागले भारतबाट हुने आयात करिब करिब रोकिएको तथ्याङ्क पेस गरेपनि व्यवसायी भने यसमा सहमत छैनन् । बाख्रा पालक महासंघका अध्यक्ष पौडेलले सरकारी निकायका आँखा छलेर भारतबाट चोरी निकासी हुने गरेको दाबी गरे ।

उनले भने, ‘सरकारी निकायले आयात नभएको भन्सार तथ्याङ्क देखाएको ठिक हो । तर, नेपाल–भारतबीचको खुला सिमानाको फाइदा उठाउँदै व्यापारीले नेपालमा भारतबाट खसीबोका ल्याउँछन् ।’ भन्सार चेकजाँच हुने ठाउँबाट छलेर खुला ठाउँबाट खसीबोका आउने गरेको भनिएपनि त्यसको ठोस प्रमाण व्यवसायीसँग छैन ।

नेपालका व्यापारी ठूला ट्रक भरिने गरी खसीबोका ल्याउन बानी परेकाले चोरी निकासी हुँदै आएको पौडेलले दाबी गरे । उनले कति सङ्ख्यामा चोरी निकासी हुन्छ भन्ने भने खुलाएनन् । यद्यपि, यसले व्यवसायीहरूमा चोरी निकासीको डर रहेको देखाउँछ ।

एक टिप्पणी भेजें

और नया पुराने

सत्य, तथ्य, निश्पक्ष, सन्तुलित खबर एवं नयाँ जानकारीहरू, तपाईसम्म पुर्याउने हाम्रो अभियानमा एक लाईक गरेर मनोवल बढाईदिनु होला ।

thedesigners7
Italian Trulli