वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगर क्षेत्र भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरू आउने आइतबारदेखि कक्षा ८ देखि १२ सम्मको पठन पाठन सुचारु गर्ने निर्णय गरेको छ ।
महानगरपालिकामा आज बसेको सरोकारवालाहरूको बैठकमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यालय खोल्न सबै जना सहमति भएपछि कक्षा ८ देखि १२ सम्मको पठन पाठन साउन ३१ गते आइतबारदेखि सुचारु गर्ने बीरगंज महानगरपालिकाले निर्णय गरेको नगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिनुभयो ।
महानगरपालिकाले यसअघि गरेको निर्णयमा जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले सहमति दिन नसक्दा विद्यालय सञ्चालन गर्न नसकिएको नगर प्रमुख सरावगीले बताउनुभयो ।
बैठकमा सहभागी सबैले शिक्षाको अधिकार स्थानीय तहको सरकारलाई नै रहेको र कोरोना सङ्क्रमणको जोखिम कायमै रहे पनि अहिले वीरगन्जको अवस्था सामान्य भएकोले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यालय खोल्न साथ दिने बताएका थिए ।
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख सरावगीले महानगरपालिकाको तर्फबाट चाल्नुपर्ने सबै कदमहरू समय परिस्थिति अनुसार नै चाल्दै आएको बताउँदै यसअघि असार १५ गतेदेखि महानगरपालिका क्षेत्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरू सञ्चालन गर्ने निर्णय भएको र जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले नरोकेको भए अहिले वीरगन्जमा पूर्ण रुपमा पठन पाठन भई रहेको अवस्था हुने थियो भन्नुभयो ।
जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रलाई गृह मन्त्रालयको आदेश नभई शैक्षिक क्षेत्र खुला गर्न पाउने अधिकार नभएकोले विद्यालय खोल्ने निर्णयलाई पनि रोक लगाएको बताउँदै महानगर प्रमुख सरावगीले आफूले गृहमन्त्री र सचिवसँग समेत भेटेर कुरा गरेपछि अहिले विद्यालय खोल्ने तयारीमा आफूm लागेको जानकारी दिनुभयो ।
महानगरपालिकाले गरेको निर्णयमा वीरगन्जका सबै राजनीतिक दल, संस्थागत विद्यालयहरूको सङ्गठन, सामुदायिक विद्यालयहरूको सङ्गठन तथा सरोकारवाला पक्षहरूले साथ दिने प्रतिबद्धता जाहेर गरेपछि महानगरपालिकाले कक्षा ८ देखि १२ सम्मको पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको महानगर प्रमुख सरावगीले बताउनुभयो ।
बैठकमा महानगर प्रमुख सरावगी सहित, शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण, स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख अरुण कुमार महतो, नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजरा, नेकपा माओवादी केन्द्रका महानगर अध्यक्ष रहबर अन्सारी, प्याब्सन पर्साका सचिव छेडुप लामा, एन प्याब्सनका अध्यक्ष रामसुन्दर चौधरी, नेपाल शिक्षक महासङ्घ पर्साका अध्यक्ष तीर्थराज यादव, महानगर अध्यक्ष विनोद मेहेता, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य केसी लामिछाने, वीरगन्ज कलेजका अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चौधरी लगायत विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, नागरिक समाज तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
Tags:
main news